Friday, February 22, 2013

चितवनमा गोही गणना सम्पन्न


चितवन, १० फागन। चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा बग्ने राप्ती र नारायणी नदीमा घडियाल गोही गणना कार्य सम्पन्न भएको छ । नारायणीको सिख्रौलीदेखि त्रिवेणीसम्म र राप्तीको जिन्दगानी घाटबाट दोभानसम्म नदी छेउमा गोही गणना गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेद खड्काले जानकारी दिनुभयो ।
तीनदिन लगाएर गोही गणना गरिएको हो। पानीबाहिर बालुवामा प्रत्यक्ष हेरेर गरिएको गणनालाई भिडाएर एकमहिनाभित्रमा एकीन सङ्ख्या आउने खड्काले बताउनुभयो। सन् २०११ मा गणना गर्दा राप्ती नदीमा ३३ र नारायणी नदीमा ४८ वटा गोही भेटिएको थियो भने देशभरमा २०२ वटा गोही  भेटिएका थिए।
नारायणी र राप्तीबाहेक कर्णाली र बबही नदीमा घडियाल गोही रहेका छन् । विश्वमै नेपाल र भारतमा मात्रै पाइने लोपउन्मुख घडियाल गोही संरक्षणका लागि नेपालमा २०३५ सालबाट अभियान थालिएको हो । हालसम्म चार नदीमा ८७१ वटा गोही छाडिसकिएको छ । सहायक संरक्षण अधिकृत खड्काका अनुसार यो वर्षको तथ्याङ्कमा गोहीको सङ्ख्या बढ्ने निश्चित छ।
पानीबाहिर मात्र हेरेर गणना गरिने हँुदा तथ्याङ्कलाई न्यूनतमरुपमा लिन सकिने उहाँले बताउनुभयो ।
तराई भूपरिधि कार्यक्रम र राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा गोही गणना गरिएको हो।

No comments:

Post a Comment